साहित्य सदन नेपालको स्थापना दिवस
शारदारमण नेपाललाई रू पचास हजार राशिको हृदयचन्द्र स्मृति सम्मान प्रदान

फागुन ५,काठमाडौँ, नेपालबोर्डर । जनप्रज्ञा–प्रतिष्ठानका रूपमा २०४३ सालमा स्थापित साहित्य सदन नेपालले आफ्नो ३८ अौँ स्थापना दिवस समारोह यही फागुन ४ गते मनायो । सो अवसरमा सदनले साहित्यकार हृदयचन्द्रसिंह प्रधानको १२० अौँ जन्मजयन्ती मनाउनुका साथै सदनले प्रतिवर्ष प्रदान गर्दै आएको हृदयचन्द्र स्मृति सम्मान २०८१ साहित्यकार शारदारमण नेपाललाई प्रदान गरेको छ ।
सदनका अध्यक्ष प्रा.डा.हेमनाथ पौडेलका अध्यक्षतामा सम्पन्न उक्त समारोहमा सदनका संस्थापक सदस्य एवं पूर्व कुलपति वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेती र सदनका आजीवन सदस्य वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईँले शारदारमण नेपाललाई उक्त सम्मान प्रदान गर्नुभयो । यस अवसरमा बोल्दै पूर्व कुलपति उप्रेतीले सहित्य सदन नेपालले शारदारमण नेपाललाई सम्मानका निम्ति छनोट गरेकोमा खुसी व्यक्त गर्दै उहाँलाई बधाई दिनुका साथै साहित्य सदन नेपालले गरिरहेका गतिविधिहरू उल्लेखनीय रहेका छन् भन्नुभयो र वर्तमान कार्यसमितिलाई धन्यवाद पनि दिनुभयो ।
सोही अवसरमा वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईंले शारदारमण नेपाल जनसंस्कृतिका संवाहक भएको बताउँदै सम्मान प्राप्त गरेकोमा उहाँलाई बधाई दिनुभयो र साहित्य सदन नेपालले यस वर्षदेखि प्रदान गर्ने गरी पारिजातका नाममा पुरस्कार स्थापना गरेकोमा खुसी पनि व्यक्त गर्नुभयो । सो अवसरमा चापागाईँले यस वर्षदेखि लागुहुने गरी ल्याइएको नेपाली एम।एको पाठ्यक्रमबाट त्रिविले पारिजातको विशेष अध्ययन हटाएकोमा खेद व्यक्त गर्दै उक्त पाठ्यक्रम सच्याउन सबै लाग्नुपर्ने पनि बताउनुभयो ।
सदनका सचिव प्रह्लाद पोख्रेलले विषय प्रवेश गर्दै स्वागत मन्तव्य राख्नुभएको उक्त समारोहमा सदनका उपाध्यक्ष मित्रलाल पंज्ञानीले हृदयचन्द्रको साहित्यिक, वैचारिक योगदानका साथै सम्मानित व्यक्तित्व शारदारमण नेपालको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सदनकी सदस्य डा।गीता त्रिपाठीले हृदयचन्द्रको एउटा कविता र सहसचिव कृष्ण सुवेदीले गङ्गालालको चिता नाटकका महत्त्वपूर्ण अंशको वाचन गर्नुभएको थियो । समारोहमा नवजागृति माविका छात्र र छात्राले समसामयिक कविता वाचन गरेका थिए । सम्मानित व्यक्तित्व शारदारमण नेपालले साहित्य सदनले हृदयचन्द्रसिंहका नाममा स्थापित सम्मान पुरस्कार आफूलाई प्रदान गरेकोमा आफू गौरवान्वित भएको बताउनुभयो।
कार्यक्रममा लेखक एवं राजनीतिज्ञ डा. बिन्दा पाण्डेले शारदारमण नेपाल आफ्नो गुरू हुनुभएको र आफूले उहाँबाट निडर र सङ्घर्षशील रहने प्रेरणा पाएको बताउनुभयो । कार्यक्रममा सदनका सदस्य त्रिलोचन आचार्यले पनि बोल्नुभएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्वकी जीवन साथी सिर्जना नेपाललाई पनि मञ्चमा सम्मान गरिएको थियो ।
सभाध्यक्ष पौडेलले साहित्य सदन नेपालले यस वर्षदेखि रु पच्चिस हजारको हृदयचन्द्र स्मृति सम्मानको राशि बढाएर रु पचास हजार पारेको तथा गोपालप्रसाद रिमाल र व्यथित साहित्य सम्मान तिस/
तिस हजार पारेको र यस वर्षदेखि थप रु तिस हजार राशिको पारिजात साहित्य पुरस्कारको स्थापना गरेको बताउदै अब उप्रान्त सदनले प्रतिवर्ष चार ओटा पुरस्कार प्रदान गर्ने बताउनुभयो। साथै उहाँले त्रिवि नेपाली एमएको पाठ्यक्रमबाट पारिजात र विश्वेश्वर प्रसाद कोइरालाका कथाको विशेष अध्ययन हटाएर त्रिविले लोकतन्त्र विरोधी काम गरेको विचार राख्नुभयो ।
कार्यक्रममा अध्यक्ष पौडेलले सम्मानित व्यक्तित्व शारदारमण नेपालले सम्मान स्वीकार गर्नुभएकोमा र विशिष्ट व्यक्तित्वहरूका साथै अन्य व्यक्तित्वहरूको समारोह सफल पार्न गरिमामय उपस्थिति रहेकोमा धन्यवाद व्यक्त गर्नुहुँदै सभा समाप्तिको घोषणा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सदनकी सदस्य सुनीता बुढाथोकीले गर्नुभएको थियो ।
What's Your Reaction?






