समीक्षा - भट्टराईको ‘मञ्जरी’ युगीन चेतना बोकेको खण्डकाव्य हो – शर्मा ललिता

समयमा नै यस कृतिको सहि चर्चा भएको भए समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने थियो । यतिमात्र हैन धेरै वालविधवा र अन्य विधवाले अकालमा मर्नु पर्ने थिएन

Sep 24, 2024 - 20:02
Sep 25, 2024 - 15:05
 0  76
समीक्षा - भट्टराईको ‘मञ्जरी’ युगीन चेतना बोकेको खण्डकाव्य हो – शर्मा ललिता


हाम्रो चिरपरिचित स्रष्टा एंव पत्रकार रेणुका भट्टराईद्वारा लिखित ’मञ्जरी’ खण्डकाव्य दोस्रो संस्करण मञ्जरीको गहिराइमा पुगेर पढ्दा मञ्जरी खण्डकाव्य अत्यन्तै मार्मिक  विषयबस्तु  हुनुका साथै  प्रस्तुत यूगीन  चेतना बोध गर्ने हो भन्ने मेरो ठम्याई छ । 
  २१ औं शताब्दीतिर आइपुग्दासम्म पनि समाजमा विधवा नारीका भोगाइहरु व्याप्त देखिन्छन्। विधवा विवाहका बिषयमा क्रान्तिकारी आवाज उठाइएको यो खण्डकाव्य नेपाली समाजको लागि सदैव नवीन नै  भइरहनेछ ।

समाजमा हेलाका रुपमा हेरिने वालविधवालाई आफ्ना घर परिवारबाट माया ,प्रेम सद्भावका साथ उचित शिक्षाको अवसर प्रदान गर्नुको साथै सक्षम बनाएर सासु ससुरा घरपरिवारबाट सःसम्मान पुनर्विवाह गरिदिएमा समाजले  सुन्दर रूपलिनेछ भन्ने क्रान्तिकारी बुलन्द आवाज यस मञ्जरी खण्डकाव्यमा स्रष्टाले उठाउनु भएको छ। 


हाम्रो नेपाली समाजमा भएका बिभिन्न द्वन्द्वको बर्गीकरण द्वारा रचनालाई बिभिन्न खण्डमा  प्रस्तुत गरिएको छ ।  केहि यहाँहरुका माझ साझा गर्दैछु ।

एघारबर्ष नपुग्दो छोरी ठूली पो भई रे ?
चल्दछ कुरा बरको घर पठौने अहिल्यै 
साउती गर्छ जन्मेको घर बिहेको नाउँमा 
कोमल पाउ कसरी टेक्छे रीतिका काँडामा। 
              (१६)
यसरी ११ बर्षमैं नाबालक मञ्जरीलाई बिदा गर्ने चाजो पाजो हुन्छ ।  रजस्वला नहुदै छोरीको कन्यादान गरे बैकुण्ठवास हुन्छ भन्ने अन्धविश्वासले जकडिएको सामाजिक सोचाइ प्रति स्रष्टाको विमति काव्यमा प्रष्ट पढ्न सकिन्छ।

 बेलैमा  गरे छोरीको बिहे बैकुण्ठ पाइन्छ 
नपरी नर्क स्वर्गको द्वार खोलेर जाइन्छ 
मायामा कति नमिठो गन्ध कसरी छिपेछ 
बाबाको कुरा सुनेर कठै ? मुटु नै दुखेछ।
 (श्लोक)
जन्मदेखि अपहेलित छोरी, धर्मको नाममा  वालविवाह गरिदिन्छन् मन्जरीको ,विवाह भएको एकवर्ष नहुदै वालविधवा बन्न पुग्छिन्। घर समाजमा अपहेलित हुनु, माया प्रेममा बन्देज, खानपिनमा बन्देज कहालि लाग्दो मञ्जरीको जीवनीलाई नयाँ जीवन दिन सष्टाले क्रान्तिकारी आवाज  यस खण्डकाव्यमा उठाउनु भएको छ।

मञ्जरी खण्डकाव्य झ्याउरे छन्दलय १६ अक्षरको संरचनामा रहेको १९२ श्लोकमा संरचित छ।
मन्जरी खण्डकाव्यले मञ्जरीका कथाव्यथा मात्र  नभएर समाजमा रहेका वालविधवाहरुको प्रतिनिधित्व  गरेकोछ। अत्यन्त मार्मिक मञ्जरी खण्डकाव्य पढ्नैपर्छ अनि मात्र मञ्जरीका कहालि लाग्दा कथाव्यथासंग साक्षात्कार हुन सकिन्छ । पुनः समाज परिवर्तनका लागी मञ्जरीलाई पढ्नै पर्छ भन्ने हार्दिक अनुरोध पाठकसँग गर्दछु।

स्रष्टाले आफ्नो भनाइमा  भन्नुहुन्छ । अझ आफ्नै सिर्जनाले जीवन्तता बोकी उभिएर ठाडो प्रश्न गर्दा त म अवाक बनेकी छु।
मेरै सिर्जनाले मलाई 
परिवर्तनको संवाहक बन् भन्दैछ किन ?
म अवाक्, अवाक् , मौन हुदैँ 
हेर्छु 
युगलाई, समर्पण गर्दछु
ती आमा दिदी र बहिनीलाई 
जसले एक्लै जिउन सिकाइरहेका छन् 
युग बोध गर्दै।

 अन्तमाः मञ्जरीको जन्मको कहानी थोरै लेख्न चाहन्छु ।  जुन कुरा स्रष्टाको मुखाग्र मञ्जरीको दोस्रो संस्करणको लोकार्पण समारोहमा सुन्ने अवसर पाएकी थिए ।

            स्रष्टा रेणुका भट्टराईले आफ्नोत युवा अबस्था (१९ बर्ष) मैं मञ्जरी खण्डकाव्य २०५७ भाद्र महिनामा एकै रातमा लेख्नु भएकोछ रहेछ। कहिले काही मन र दिमागमा कुनै घटनाले जरो गाड्छ र रचना प्रस्फुटन अनायास हुन्छ हो त्यो भदौको एकरात स्रष्टालाई त्यस्तै भयो । वालविधवा चेलीले दुःख पाएको र संघर्ष गर्न नसकि आत्महत्या गरेको  घटना दिदीको घरमा जादै गर्दा सुने पश्चात ः वहाँको मनमा गहिरो पीडाले आधिबेरी उठ्न थाल्छ । रचनाकाल (२०५७) त्यो समय कुनै आदर्श पुरुष  विधवा विवाह गर्न   खडा हुन नसकि जीवनको भिख माग्दा पनि बचाउँने केही नभई  वालविधवाको जीवन ! खेर गएकै कारण काव्यमा आर्दश पुरुष जन्माएर हजारौ लाखौं मञ्जरीहरुलाई 
 बचाउँने प्रयास देखिन्छ । यस्ता सकारात्मक तर्कले स्रष्टाको कलम राताभर चल्छ र मञ्जरी खण्डकाव्यले एकरातमै पूर्णता पाउँछ । २०५७ भाद्रमा यसरी जन्मलिएकी मञ्जरी २०६१ सालमा पहिलो संस्करणको रूपमा प्रकाशित भयो । प्रकाशन समयमा नै यस कृतिको सहि चर्चा भएको भए समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने थियो । यतिमात्र हैन धेरै विधवा वालविधवा र अन्य विधवाले अकालमा मर्नु पर्ने थिएन होला । यस काव्यको मूल कुरा नै उनीहरुलाई नयाँ जीवन दिनु सकारात्मक सन्देश हो । अर्को स्रष्टाले समाजका हरेका कुरालाई समस्याका रुपमा देखाउँने मात्र हैन विकल्पको बाटो र समाधान समेत दिनुपर्छ भन्ने शिक्षा दिएको पाइन्छ । 

अहो !  कस्तो संयोग समाज परिवर्तनको कल्पना गर्ने स्रष्टाको आफैले लेखेको कुरा आफ्नै जीवनमा संयोग बन्छ ? यो आश्चर्य हो ! बिधाताको विधान कस्तो हुन्छ ? नसोचेको भइदिन्छ।  दोस्रो संस्करण २०८१ मा लोकार्पण हुँदा स्रष्टा स्वयंको सिउँदो पुछिएको थियो।
कस्तो संयोग, कस्तो घटना विधाले स्रष्टालाई १९ बर्षमै सङ्केत गरिसक्नु भएको हो त ???
म निःशब्द छु ! पाठले केहि भन्न सक्नुहुन्छ की ?  
यो सब मर्म बुझ्न मञ्जरी खण्डकाव्य पढ्नै पर्छ हजुर ! 
मञ्जरीको दोस्रो संस्करणसंगै नेपाली मौलिक झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियान समेत शुरु गरेकी स्रष्टाले सबैलाई फेरि एकपटक झ्याउरे छन्द लेख्न आह्वान गर्दै नयाँ पुराना सबैलाई  झक्झकाउँने कार्य समेत गरिरहेकी छिन् । यस कार्यको सहि मुल्याङ्कन समयले अवश्य गर्ने छ । स्रष्टालाई कृति सफलताको अनन्य शुभकामना । 

पेप्सीकोला काठमाडौँ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow