लेख - रेणुका भट्टराई ‘मञ्जरी’ - एकल नारीको संघर्ष र समाज परिवर्तनको अभियान -मिलन समबर्ती

एकल नारी सशक्तिकरणको अभियान/ नेपालको मौलिक साहित्य झ्याउरे कविता लेखन अभियानकी अभियन्ता समेत रहेकी भट्टराई

Feb 9, 2025 - 08:30
Feb 9, 2025 - 08:32
 0  22
लेख - रेणुका भट्टराई ‘मञ्जरी’ - एकल नारीको संघर्ष र समाज परिवर्तनको अभियान -मिलन समबर्ती
मिलन समबर्ती

समाजमा महिलाको अस्तित्व र अधिकारका विषयमा चर्चा हुँदा पनि, एकल महिलाका मुद्दा प्रायः गौण नै बन्ने गरेका छन्। अझै पनि विवाहपछिको जीवनलाई मात्र महिलाको पहिचान मान्ने परम्परागत सोच हट्न सकेको छैन। नारीलाई केवल श्रीमान्को आश्रयमा सुरक्षित देख्ने मानसिकता परिवर्तन नभएसम्म, एकल महिलाहरूका लागि सहज जीवन यापन गर्न कठिन हुनेछ। तर, यस्ता सामाजिक मान्यताहरूविरुद्ध लड्दै, एकल महिलाहरूको आवाज बुलन्द पार्दै अगाडि बढ्ने केही अग्रणी व्यक्तित्वहरू छन्, जसले समाज परिवर्तनको इतिहास कोरिरहेका छन्। त्यस्ता सशक्त अभियन्तामध्ये रेणुका भट्टराई मञ्जरीको नाम अग्रस्थानमा आउँछ।

पत्रकारिता र समाजसेवाको माध्यमबाट संघर्षको अभियान

काभ्रेपलाञ्चोकमा जन्मेकी रेणुका भट्टराई मञ्जरी केवल पत्रकार मात्र होइनन्, उनी एक समाज सुधारक पनि हुन्। पत्रकारिता मार्फत एकल नारीका सवाललाई सतहमा ल्याएर उनले गम्भीर बहसको वातावरण सिर्जना गरिरहेकी छिन् । महिलाका पीडा केवल व्यक्तिगत अनुभव मात्र नभई सामाजिक संरचनाको कमजोरी हो भन्ने सन्देश उनी आफ्ना लेखन तथा अभियानहरूबाट दिन खोज्छिन्।

हाम्रो समाजमा महिलाहरूलाई विवाहपछि मात्र सुरक्षित भविष्यमुखी सोच्न लगाइन्छ। तर, श्रीमान् गुमाएपछि वा विभिन्न कारणले एकल जीवन बिताउनुपरेपछि उनीहरूलाई पुनः स्थापित हुन कठिन हुन्छ। आर्थिक परनिर्भरता, सामाजिक भेदभाव, मानसिक तनाव जस्ता समस्याहरूले एकल महिलाहरूलाई निराश बनाउने गर्छन्। तर, यस्ता पीडित महिलाहरूलाई मनोबल बढाउने, उनीहरूलाई सशक्त बनाउने कार्य आजको समाजमा अपरिहार्य छ। रेणुका भट्टराई मञ्जरीजस्ता अग्रजहरूले यस्तै अभियानलाई अगाडि बढाइरहेकी छिन्।

समाज परिवर्तनका लागि कलमको शक्ति !

पत्रकारिता केवल सूचना प्रवाह गर्ने माध्यम मात्र होइन, यो समाज परिवर्तनको बलियो हतियार पनि हो। पत्रकारले कलममार्फत सत्यको उजागर गर्छन्, अन्यायको विरुद्ध आवाज उठाउँछन्। अझ विशेष गरी महिलाहरूका लागि पत्रकारिता अझै पनि चुनौतीपूर्ण क्षेत्र हो। तर, समाजका तीतासत्य उजागर गर्ने, अन्यायको विरुद्ध निर्भीकताका साथ कलम चलाउने महिला पत्रकारहरू वास्तवमै प्रशंसनीय छन्।

रेणुका भट्टराई मञ्जरीले आफ्नो पत्रकारिता यात्रालाई केवल समाचार लेखनमा सीमित नराखी, एकल नारीहरूको अधिकारका लागि बहस चलाउने, उनीहरूका समस्यालाई नीति निर्माण तहसम्म पु¥याउने प्रयास गरिरहेकी छिन्। उनका लेखनीहरू व्यक्तिगत अनुभूतिहरूमा मात्र सीमित छैनन्, ती लाखौं नारीहरूको साझा आवाज बनेका छन्।

एकल नारी सशक्तिकरणको अभियान

एकल नारीहरूलाई समाजले सहानुभूतिपूर्ण दृष्टिले मात्र हेर्नेभन्दा पनि उनीहरूलाई सक्षम बनाउनेतर्फ ध्यान दिन आवश्यक छ। पुनः आत्मनिर्भर बनाउने, स्वरोजगारका अवसरहरू सिर्जना गर्ने, कानुनी अधिकार सुनिश्चित गर्ने, मानसिक रूपमा बलियो बनाउने जस्ता पहल अहिलेको समाजमा अपरिहार्य छन्। रेणुका भट्टराई मञ्जरीको अभियान यस्तै परिवर्तनको दिशामा केन्द्रित छ।

उनी नेपालका ग्रामीण क्षेत्रका महिलाहरूका हकहितका विषयमा आवाज उठाउन मात्र सीमित छैनन् । नेपालका मौलिक साहित्य झ्याउरे कविता लेखन अभियानकी अभियन्ता समेत रहेकी भट्टराईले हाम्रो नेपाली मौलिक साहित्यलाई विश्वमा पुरयाउने अभियानमा छिन् । लोकगीतहरूलाई पनि अन्तर्राष्ट्रिय पहिचान दिने अभियानमा संलग्न छिन्। विशेष गरी गाउँगाउँमा मेलापात र गोठालो जाँदा गाइने झ्याउरे गीतलाई विश्वव्यापीकरण गर्ने प्रयास गरिरहेकी छिन्। नेपालको मौलिक संस्कृति र लोकगीतहरूको महत्व बुझाउँदै, तिनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने अभियानमा उनी लागिपरेकी छिन्।

अन्त्यमाः एक प्रेरणादायी व्यक्तित्वलाई सलाम !

आजको युगमा एकल नारी हुनु कमजोरी होइन, यो आत्मनिर्भरताको अर्को नाम हो। समाजको समर्थन, उचित नीति, र सचेत नागरिक चेतनाले मात्र एकल महिलाहरूको जीवनलाई सहज बनाउन सक्छ। यस अभियानमा रेणुका भट्टराई मञ्जरीजस्ता पत्रकार र अभियन्ताहरूको भूमिका अतुलनीय छ। न्यायको लागि लड्ने, महिला सशक्तिकरणको पक्षमा अडिग रहने, र नेपाली संस्कृति तथा लोकसंस्कृतिलाई विश्वभर चिनाउने उनको प्रयासलाई सम्मान गर्नैपर्छ।

रेणुका भट्टराई मञ्जरीलाई हार्दिक सलाम !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow