दमक भ्यूटावर ‘बिजनेस कम्प्लेक्स’ प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

पहिचानवादीको तर्फबाट कालो झण्डा देखाउँदा केदार धिमाल, मात्रिका धिमाल र याम लोरिङ्देन लिम्बूलाई पक्राउ

Dec 8, 2024 - 22:43
 0  40
दमक भ्यूटावर  ‘बिजनेस कम्प्लेक्स’ प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

मंसिर २३, झापा,नेपालबोर्डर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ अर्बभन्दा बढीको लागतमा नवनिर्मित दमक भ्यूटावर ‘बिजनेस कम्प्लेक्स’को उद्घाटन गरेका छन्। 
ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७६ साल असार २६ गते ठेक्का लागेको दमक भ्यूटावरको आइतबार एक भव्य समारोहका बीच प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्। 

प्रधानमन्त्री ओलीले दमक नगरपालिका –३ मा डेढ अर्बभन्दा बढी लागतमा सय मिटर अग्लो भ्यूटावरको उद्घाटन गरेसँगै आजदेखि सञ्चालनमा आएको छ। 

शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार यो  बिजनेस कम्प्लेक्स चार बिगाहा १६ कट्ठा क्षेत्रफलमा बनेको छ। यस कम्प्लेक्समा ९२६ वर्ग मिटरको भुईँ तल्लासहित १८ वटा तला रहेका छन्। यस परियोजनाको अन्तिम लागत रकम एक अर्ब ६३ करोड ५४ लाख रहेको छ। 

२०८० माघ २० गते सम्पन्न गर्नुपर्ने परियोजनाको ठेक्का चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष् र ओम साइराम जेभीले लिएका थिए।
आज नै नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर–४ स्थित मानव सेवा आश्रमको उद्घाटन गर्दै आश्रमलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्। 

दुई दिने गृहजिल्ला भ्रमणका क्रममा झापा आएका प्रधानमन्त्री ओलीले आइतबार दिउँसो एक समारोहका बीच ‘मानवता प्रवर्द्धन महाअभियान’ को मानव सेवा आश्रम पाँच वर्षीय गुरुयोजनाको शिलान्यास र १९ औँ सेवा केन्द्र कार्यालयको उद्घाटन गर्दै एक महिनाको तलब दिने घोषणा गरेका हुन्।

गृह जिल्ला आएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिलाई कालो झण्डा देखाउदै पहिचान धर र रास्वपा कार्यकर्ताले नारावाजी सहित चर्को बिरोध गरेका थिए ।

झापाको मेचीनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।

विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नं।४ का सभापति शम्भु सुस्केरालाई नियन्त्रणमा लिएको थियो । यता पहिचानवादीको तर्फबाट कालो झण्डा देखाउँदा केदार धिमाल, मात्रिका धिमाल र याम लोरिङ्देन लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
दमकमा पहिचानवादीहरुलाई पक्राउ गर्ने क्रममा दमकका डिएसपी निशान थापाले पत्रकारहरु माथि भिडियो ,फोटो खिच्न गएका पत्रकारहरु माथी समेत दुर्व्यवहार गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow